August 14, 2020

त्रिभुवन विमानस्थलमा आगलागी

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार आगलागी भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको एयरपोर्ट टर्मिनल कार्यालयले बताएको छ । एयरपोर्टको दमकलले आगलागी नियन्त्रणमा लिइसकेको छ ।

जब चिप्लियो मुख्यमन्त्रीको जिब्रो

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गत शुक्रबार मिथिलाका अगुवा महिलाहरूको भेलामा भनेछन्, ‘मेरो कार्यकालमा छोरीहरूलाई यति सक्षम बनाउनेछु कि छोरीहरूले अब छोराको मुखमा एसिड खन्याउनेछन् ।’ आफू मुख्यमन्त्री भएदेखि नै छोरीहरूबारे सोच्दै आएको बताउने राउतले यस पटक भने अति नै सोचेछन्, जसको चौतर्फी आलोचना भइरहेको छ । हुन त उनको आशय गलत थिएन भन्ने लाग्छ । उनले ‘अब मधेसका छोरीहरूलाई पनि छोराहरूजस्तै हिम्मतिला बनाउँछु’ भन्न खोजेका थिए सायद । तर जिब्रो चिप्लियो ।

अझ भनूँ, शब्दचयन ठीक भएन । मुख्यमन्त्री जस्तो पदमा रहेको व्यक्तिले सार्वजनिक स्थानमा के कसरी बोल्ने भन्ने कुराले महत्त्व राख्छ ।

जिब्रो चिप्लिँदा उच्चपदस्थहरू बारबार अप्ठेरोमा परेका उदाहरण धेरै छन् । गत वर्ष कानुनमन्त्री शेरबहादुर तामाङको जिब्रो चिप्लिँदा सार्वजनिक रूपमा माफी माग्नु मात्रै परेन, छँदाखाँदाको मन्त्री पद चट भयो । उनले बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरूलाई लक्षित गर्दै अभद्र टिप्पणी गरेका थिए ।

खुट्टा चिप्लिए बरु सजिलै उठ्न सकिएला, तर ठाउँ–कुठाउँ जिब्रो चिप्लिने मान्छे फेरि खडा हुन सक्ने सम्भावना कमै हुन्छ । त्यसैले बूढापाकाले भन्ने गरेका हुन्— जिब्रोलाई सम्हालेर राख्नुमै सबैको हित हुन्छ । यति महत्त्वपूर्ण हुन्छ जिब्रो । जिब्रोले मानिसको स्वभाव र व्यक्तित्वको पहिचान दिन्छ । कुनै पनि व्यक्तिको क्षुद्रता र शालीनता जिब्रोले निर्धारण गर्छ । मान्छेलाई असल वा खराब बनाउने जिब्रोले नै हो । त्यसैले बोल्दा होस पुर्‍याउनुपर्छ । आफू मुख्यमन्त्री भएदेखि नै ‘बेटी बचाउ र बेटी पढाउ अभियान’ मा लागिपरेका राउतले बोल्दा होस नपुर्‍याएकै कारण सबैको तारो बने ।

हालै मात्र प्रदेश २ सरकारले मधेशमा स्त्री भ्रूण पहिचान गरी गर्भमै हत्या गर्ने अत्यन्त भयावह र अमानवीय मानसिकताको अन्त्यका लागि ‘छोरी जन्मँदै तीन लाख’ नामले अर्को अभियानको सुरुआत गरेको छ । स्त्री भ्रूणको हत्या रोकी छोरी जन्माउन अभिप्रेरित गर्ने तथा बालविवाह अन्त्य गर्ने उद्देश्यले जन्मनेबित्तिकै छोरीका नाममा सरकारका तर्फबाट तीन लाख रुपैयाँको बिमाको घोषणा गरेको छ । त्यो रकम छोरी बीस वर्ष पुगेपछि प्राप्त गर्ने भनिएको छ । मधेशका छोरीहरूका निम्ति यो अत्यन्त सराहनीय कदम हो । भ्रूणहत्या र बालविवाह मधेशका छोरीहरूको अस्तित्वका सबैभन्दा ठूला शत्रु हुन् । जबसम्म मधेशका छोरीहरूले जन्मन पाउने, हुर्कन पाउने, पढ्न पाउने र बालिग बन्न पाउने हक सुरक्षित गर्न सक्दैनन्, तबसम्म मधेशी समाजको प्रगति असम्भव छ । समाज सभ्य हुन त्यहाँका महिला र पुरुष दुवैको जीवनको गति समान रूपले अगाडि बढेको हुनुपर्छ । नेपाली समाजको सबैभन्दा दुःखद समस्या भनेकै महिला र पुरुष, छोरा र छोरीबीचको विभेद हो । यसमा पनि मधेशी समाज अझ बढी समस्याग्रस्त छ । छोरा र छोरीबीचको विभेदले त्यहाँको समाजलाई सुन्दर हुनबाट रोकिरहेको छ ।

मधेशका मात्र होइन, पूरै देशका छोरीहरू सक्षम हुनु जरुरी छ । तर, एसिडको बदला एसिडले छोरीहरूलाई सक्षम बनाउँदैन । यसर्थ मुख्यमन्त्री राउतको अभिव्यक्ति खेदजनक छ । आफूमाथि हिंसा गर्न खोज्नेको प्रतिकार गर्न छोरी सक्षम हुनु आजको आवश्यकता पक्कै हो । तर आफ्नो अनुहारमा एसिड छ्याप्नेको अनुहारमा एसिड नै छ्याप्दा कस्तो सन्देश जाला ? अनि समाज कता जाला ? हरेक घरमा छोरीहरूलाई एसिड प्रतिरोधको तालिम वा शिक्षा दिने कि हरेक घरका छोराहरूलाई‘यस्तो क्रूर अमानवीय हर्कत गर्नु अपराध हो,त्यसैले तिमीहरू अपराधी नबन, सुध्र’ भनेरशिक्षित गर्ने ? समाज होस् या परिवार, सुन्दर र सुखी बन्नका लागि एउटा पाटो मात्र असल र सक्षम भएर हुँदैन, दुवै पाटो समान हुनुपर्छ ।

मधेशका छोरीहरूले भोग्दै आएको अर्को विकराल समस्या हो— दाइजो । दाइजोका कारण मधेशका छोरीहरूले भोग्ने यातना एसिडको जलनभन्दा कम छैन । दाइजोकै कारण शारीरिक–मानसिक हिंसा खेप्ने, बेघर हुने, अङ्गभङ्ग हुने मात्र होइन, जिउँदै जल्नुपर्ने अवस्थाको अन्त्य गर्न छोरीहरूलाई आत्मनिर्भर बन्न सक्ने खालको शिक्षा अनिवार्य गर्नु आवश्यक छ । तैपनि यतिले मात्र दाइजोको समस्या समाधान होला भन्ने लाग्दैन । सुन्नमा आउँछ, मधेशमा ‘जति धेरै शिक्षा, त्यति धेरै दाइजो’ अर्थात् छोराले जति पढेको छ, जस्तो योग्यता छ, त्यही अनुसार नै दाइजो वा तिलकको ‘रेट’ तोकिन्छ रे ! छोरीले धेरै पढेकी छ भने डाक्टर, इन्जिनियर वा यस्तै केटा माग्न आउँछ, अनि त्यही रेटको दाइजो पनि दिनुपर्छ । समस्यै यहीँ छ । यसैले छोरीलाई सकेसम्म सानै उमेरमा बिहे गरेर पठायो भने दाइजोको मार पनि कम पर्ने हुन्छ । मधेशमा बालविवाह बढी हुनुको कारण यही हो ।

यसरी बालविवाह र दाइजो प्रथा अन्तरसम्बन्धित देखिएकाले छोरीहरूलाई स्वावलम्बी बन्न सक्ने शिक्षा दिनुपर्छ । छोराहरूलाई पनि यस्तो शिक्षा दिइयोस् कि, उनीहरूको मानसिकताबाट दाइजोको भूत हट्न सकोस् । छोरीको बिहे गर्दा घरघडेरी बेच्नुपर्ने अवस्थाबाट मधेशका बाबुआमालाई मुक्त गर्न हरेक छोरा र तिनका बाबुआमालाई दाइजोको लालचबाट कसरी मुक्त गर्ने भन्नेतर्फ सोचेर उचित शिक्षा, चेतना र अभियानको सञ्चालन गर्नतिर राउत सरकार लागिपरोस् ।

मधेशमा आफ्नै पौरखमा गर्व गर्नसक्ने छोराहरू नजन्मिएसम्म छोरीहरूले दाइजोको एसिडबाट मुक्ति पाउन मुस्किल छ । यसका साथै ‘आत्मनिर्भरता’ नै हरेक हिंसाबाट मुक्त हुनसक्ने कडी भएकाले मधेश लगायत देशैभरका सम्पूर्ण छोरीहरूलाई उचित शिक्षा र रोजगारीको अवसरको उपलब्धता सहज गराउन सक्नु नै राज्यका सबै तह, तप्का र निकायको कर्तव्य हो । त्यसैले जिम्मेवार पदमा रहेकाहरूले अपराधलाई प्रश्रय दिने खालको अभिव्यक्ति दिनमा होइन, अपराधरहित समाज निर्माणमा ध्यान दिनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *