१२ जेठ, धनगढी । २२ कात्तिकमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको ६.६ म्याग्निच्यूडको भूकम्पमा परेर ६ जनाले ज्यान गुमाए, ७ जना घाइते भए । यो २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको ७.६ म्याग्निच्यूडको भूकम्पपछिको नेपालमै सबैभन्दा ठूलो भूकम्प थियो ।
सो भूकम्पका कारण घर भत्किंदा ज्यान गुमाउने सबै डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका बासिन्दा र घाइते पनि यहींकै थिए । गाउँपालिका कार्यालयका अनुसार सो भूकम्पले १ हजार ९२० घरमा क्षति पुर्याएको थियो । ती संरचना पुनःनिर्माण गर्नुपर्ने सूचीमा राखिएका छन् ।
सो भूकम्पले क्षति पुर्याएका र चर्किएका बाहेक पूर्वीचौकी गाउँपालिकाभित्रका अरू भौतिक संरचना पनि ठूलो भूकम्प थेग्न सक्ने अवस्थाका छैनन् । जम्मा ५ हजार ३०० निजी घर रहेकोमा यहाँका १० प्रतिशत संरचना पनि भूकम्प प्रतिरोधी छैनन् । जसका कारण २२ कात्तिकको भन्दा ठूलो भूकम्प गएमा यो गाउँपालिकाले ठूलो क्षति व्यहोर्नुपर्ने हुुन सक्छ ।
‘हाम्रो पालिकामा बनेका प्रायःजसो घरहरू परम्परागत; ढुंगा र माटोको गारोले निर्माण गरिएका छन् । कतिपय घर निकै पुराना भएकाले जीर्ण पनि छन्, अहिले पनि मानिसहरू त्यस्तै घरमा बसिरहेका छन्’ पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय भन्छन्, ‘ठूलो भूकम्प गएमा हुने क्षतिको त कल्पना गर्न सक्ने अवस्थै छैन ।’
उपाध्यायका अनुसार भूकम्पका कारण घरहरू चिराचिरा परेर भत्किने अवस्थामा पुगिसक्दा समेत मानिसहरू जीर्ण घरमै बस्न बाध्य छन् । विद्यालय र स्वास्थ्य चौकी भवनको अवस्था पनि उस्तै छ । गाउँपालिकाले चर्किएको घरमा नबस्न तथा जुनसुकै बेला पनि भूकम्प जान सक्ने भएकाले सचेत भएर बस्न नागरिकहरूलाई आग्रह गर्ने बाहेक थप सुरक्षाका काम गर्न सकेको छैन ।
अध्यक्ष उपाध्याय भन्छन्, ‘पछिल्लो पटक बनेका १० प्रतिशत हाराहारी केही सुरक्षित होलान्, त्यस बाहेकका भौतिक संरचनाहरू जोखिमपूर्ण छन् । ठूलो भूकम्पले ठूलै क्षति पुर्याउन सक्छ ।’
साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम समेत रहेको दिपायल सिलगढी नगरपालिकाको अवस्था पनि उस्तै छ । दिपायल सिलगढी नगरपालिकामा निर्माण भएका भौतिक संरचनाको अवस्था हेर्दा ठूलो भूकम्प गएमा यसले पनि धान्न सक्ने अवस्था छैन ।
७ हजार निजी घरधुरी तथा विभिन्न सरकारी कार्यालय रहेको दिपायल सिलगढीमा गएको कात्तिकको भूकम्पका कारण १२०० घर क्षतिग्रस्त भएका छन् । करिब ६० घरमा त पूर्ण रूपले क्षति पुगेको छ । बजार क्षेत्रमा निर्माण गरिएका केही संरचना भूकम्प प्रतिरोधी भए पनि तिनले समेत ठूलो भूकम्प धान्न सक्ने अवस्था नरहेको मेयर बाजी सिंह खड्का बताउँछन् ।
‘साविकको क्षेत्रीय सदरमुकाम भए पनि दिपायल सिलगढी नगरपालिकाको धेरै भाग ग्रामीण क्षेत्र नै पर्छ । पिपल्ला र सिलगढी बजार बाहेक सबै ग्रामीण बस्ती छन् । यहाँका अधिकांश घर परम्परागत रूपले बनेका र जीर्ण अवस्थाका छन्’ मेयर खड्काले अनलाइनखबरसँग भने, ‘सरकारी भवनको अवस्था पनि त्यस्तै छ । २०७२ सालपछि बनेका घरहरू भवन संहिताको मापदण्ड अनुसार बनेका छन् । ठूलो भूकम्पका लागि ती पनि धेरै मजबुत मान्न सकिंदैन ।’

माटोको गारो र ढुंगाले बनेका परम्परागत शैलीका घर २/३ तलासम्मका भएकाले पनि धेरै जोखिममा रहेको उनको भनाइ छ । नगरपालिकाले सबै घर पुनःनिर्माण गर्न नसके पनि भूकम्पबाट धेरै क्षति हुन नदिनेतर्फ ध्यान दिंदै जनचेतनामूलक सन्देश प्रवाह गरिरहेको छ । ‘हामीले भूकम्प प्रतिरोधी घर बनाउने विषयलाई कडाइका साथ लागू गरेका छौं । गाउँ–गाउँमा भूकम्पको जोखिमबाट बच्ने उपायका बारेमा बताइरहेका छौं’, खड्काले भने ।
साना भूकम्प : एक वर्षमा १० पटकसम्म !
पछिल्लो समय सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरालाई केन्द्रबिन्दु बनाएर भूकम्पहरू गइरहेका छन् । २१ वैशाखमा मात्रै बाजुरा केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो भने भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बाजुरामा मात्रै यो एक वर्ष बीचमा १० पटक भूकम्प गइसकेको छ ।