सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह सहितको प्रतिनिधिमण्डललाई प्रधानमन्त्री पुष्पकमल दाहालले बजेटमा प्राथमिकतामा पारिने बताएका छन्।
स्रोत वितरणमा पछि पारिएको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र विपक्षी दलका नेता राजेन्द्र रावल सहितको टोलीले बुधबार प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए।
‘सुदूरपश्चिम, कर्णाली, मधेशलाई विशेष प्राथमिकतामा राखेर बजेट बनिराखेको छ। नीति कार्यक्रम पनि त्यसैगरी बनाइएको छ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै प्रदेशका आर्थिक मामिलामन्त्री नरेश शाहीले भने, ‘हाम्रो मागप्रति उहाँ सकारात्मक हुनुहुन्छ।’
संघ सरकारको ध्यााकर्षण गराउन आइपुगेको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाह सहितको टोलीले अहिले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्दैछ।
राज्यको स्रोत बाँडफाँट सुदूरपश्चिम प्रदेशलाई ‘बहिष्करण’मा नै पारिएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारको प्रतिनिधिमण्डल डेलिगेसनका लागि काठमाडौं आएको हो।
सुदूरपश्चिम सरकारलाई स्रोतको पहुँचमा कमजोर बनाइएको राजस्व कम उठेको भन्दै समानीकरण अनुदानको अन्तिम किस्ताको भुक्तानीसमेत रोकिएको विषयमा ध्यानाकर्षण गराउन काठमाडौं आएको उनीहरूले बताएका छन्।
‘सुदूरपश्चिम प्रदेशको हकमा यो समानीकरण अनुदान कटौती नगर्न र आगामी दिनमा कम्तीमा पनि निश्चित केही वर्ष वा केही सूचक निर्धारण गरेर त्यसअनुसार स्रोतमाथि सुदूरको विशेषाधिकार प्रदान गर्न सुदूरपश्चिम प्रदेश सभाले जेठ ६ गते सर्वसम्मत निर्णय गरिसकेको जानकारी दिन पनि काठमाडौं आएका हौं,’ मन्त्री शाहीले बताए।
उनीहरूले मंगलबार अर्थमन्त्री प्रकाशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराएका थिए।

बुधबार प्रमुख प्रतिपक्षी लगायत राजनीतिक दलका प्रमुख पनि भेट्ने तयारी रहेको उनले बताए।