८ साउन, काठमाडौं । भारतले व्यक्तिगत आयकरको स्ल्याबमा परिवर्तन गरेपछि सवा ११ लाख नेपाली रुपैयाँसम्मको आयमा भारतको तुलनामा नेपालमा करको दर ६ गुणा बढी पुगेको छ ।
भारतीय अर्थमन्त्री निर्मला सितारमणले मंगलवार सार्वजनिक गरेको बजेटमार्फत ७ लाख भारु अर्थात् ११ लाख ३४ हजार नेपाली रुपैयाँसम्म ५ प्रतिशत कर तिरे हुने व्यवस्था गरिएको छ ।
त्यस बराबरको आयमा नेपालमा चार स्लाबमा आयकर तिर्नुपर्छ । शुरुमा ५ लाखसम्मको आयमा १ प्रतिशत कर लाग्छ भने त्यसपछिको २ लाखमा १० प्रतिशत कर लाग्ने गरेको छ । त्यस्तै, त्यसपछिको ३ लाख रुपैयाँमा २० प्रतिशत कर लाग्छ भने त्यसपछिको १० लाख रुपैयाँमा नेपालमा ३० प्रतिशत कर लाग्ने गरेको छ ।
यस हिसाबले भारु ७ लाख बराबरको आयमा नेपालमा ३० प्रतिशतसम्मको स्लाबमा बसेर आयकर तिर्नुपर्ने अवस्था छ ।
जबकि, भारतमा ३ लाख भारु अर्थात् ४ लाख ८६ हजार सम्म कुनै कर नै तिर्नुपर्दैन । तीन लाख देखि ७ लाख भारुसम्म ५ प्रतिशत र ७ लाखदेखि १० लाख भारुसम्म १० प्रतिशत कर तिर्नुपर्ने प्रस्ताव भारतको बजेटले गरेको छ ।
त्यसभन्दा माथि १० लाख भारुसम्म भारतमा १० प्रतिशत र १० देखि १२ लाख भारुसम्म १५ प्रतिशत आयकर लाग्ने व्यवस्था छ । १२ देखि १५ लाख भारुसम्म २० प्रतिशत आयकर भारतमा लाग्दै आएको छ । १५ लाखदेखि माथिको आयमा भने भारतमा ३० प्रतिशत आयकर लाग्छ ।
५० लाख भारुसम्म ३० प्रतिशत आयर लाग्छ भने त्यसभन्दा माथि १ करोड भारुसम्म १० प्रतिशत सरचार्ज जोडेर कर लाग्छ अर्थात् ३३ प्रतिशत कर लाग्छ । त्यस्तै, १ देखि २ करोड भारुसम्म १५ प्रतिशत सरचार्ज लाग्छ अर्थात् साढे ३४ प्रतिशत कर लाग्छ । त्यसभन्दा माथिको आयमा २५ प्रतिशत सरचार्ज लाग्छ । अर्थात् भारतमा अधिकतम् आयकरको दर साढे ३७ प्रतिशतसम्म छ ।
नेपालमा भने अत्यन्तै कमजोर आयवर्गकै जनतासँग राज्यले आयकर उठाउँदै आएको छ । आयकरको विश्वव्यापी मान्यता विपरीत नेपालले सबैभन्दा कमजोर आयवर्गका नागरिकहरुसँग १ प्रतिशत कर लिँदै आएको छ । ५ लाख रुपैयाँसम्म आय गर्नेले सो दरमा कर तिर्नुपर्छ ।
त्यसपछिको २ लाखमा एकैपटक १० प्रतिशत कर तिर्नुपर्छ भने त्यसपछिको ३ लाखमा २० प्रतिशत कर तिर्नुपर्छ । १० लाखभन्दा माथि २० लाख रुपैयाँसम्म ३० प्रतिशत कर तिर्नुपर्छ भने त्यसमाथि ५० लाख रुपैयाँसम्म ३६ प्रतिशत आयकर तिर्नुपर्छ भने ५० लाखभन्दा माथिको आयमा ३९ प्रतिशत कर तिर्नुपर्छ ।
नेपालको तुलनामा भारतमा जिविका चलाउने खर्च १६.४ प्रतिशतले कम भएको यससम्बन्धी तथ्यांक राख्ने प्लेटफर्म ‘नम्बियो’ले उल्लेख गरेको छ । तर, नेपालमा एकातिर जिविका चलाउने खर्च धेरै छ, अर्कातिर करको दर पनि भारतको तुलनामा अत्यधिक धेरै छ ।
नेपाल र भारतको आयकरको स्लाब तुलना
नेपाल | भारत | ||
आय | करको दर | आय | करको दर |
५ लाख रुपैयाँसम्म | १ प्रतिशत | ३ लाख भारुसम्म | शून्य |
त्यसपछिको २ लाख | १० प्रतिशत | ३ देखि ७ लाख भारु | ५ प्रतिशत |
त्यसपछिको ३ लाख | २० प्रतिशत | ७ देखि १० लाख भारु | १० प्रतिशत |
त्यसपछिको १० लाख | ३० प्रतिशत | १० देखि १२ लाख भारु | १५ प्रतिशत |
त्यसपछिको ३० लाख | ३६ प्रतिशत | १२ देखि १५ लाख भारु | २० प्रतिशत |
५० लाखमाथि | ३९ प्रतिशत | १५ लाख भारुभन्दा माथि (यसमाथि थप आयका आधारमा सरचार्ज लाग्छ, अधिकतम् साढे ७ प्रतिशतसम्मले थप कर तिर्नुपर्छ) | ३० प्रतिशत |