काँग्रेसले भन्यो–सीमानामा रहेका भारतीय सेना हटाइनुपर्छ

काठमाण्डु, – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले कालापानी नेपालकै भू–भाग भएकामा कुनै अस्पष्टता र द्विविधा नभएको बताएका छन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालले फिर्ता लिनुपर्ने लेखकको भनाइ छ । उनले भने,‘सिमा विवादबारे सबै दल एकमत छन् । अब भारतसँग नेपाल सरकारले उच्च राजनीतिक र उच्च कुटनीतिक तहमा छलफल गर्नुपर्छ ।

हिजोको बालुवाटारको सर्वपक्षीय बैठकले सरकारलाई शक्ति प्रदान गरेको छ ।’ उनले महाकाली नदीका पूर्वका सम्पूर्ण भूभाग नेपालको भएको दाबी गरे । उनले भने,‘हिजोको सर्वपक्षीय बैकठमा हाम्रो पार्टी सभापतिले पनि स्पष्ट रुपमा यो कुरा राख्नुभएको छ ।’

लेखकले कालापानी लगायत भारतीय सुरक्षा बल बसेको क्षेत्र नेपाली भू–भाग भएको पनि स्पष्ट गरे । मुलुकमा दुई तिहाइको बलियो सरकार भएका बेला सतहमा आएको यो समस्या समाधानका लागि उपयु्क्त वातावरण रहेको पनि लेखकले बताए । उनले थपे,‘अहिलेको सरकार अत्यन्तै बलियो छ ।

दुई तिहाईको सरकार छ । हिजोको बैठकबाट देशमा यो विषयमा सबै दलबीच एकमत धारणा बनेको छ । हामीले उच्च कुटनीतिक पहल गर्नुपर्छ भनेर आग्रह गरेका छौं ।’ उनले सरकारलाई अवसरसँगै अग्निपरीक्षासमेत सुरु भएको सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *